साइड इफेक्ट
सामान्यतया: साइड इफेक्ट भन्नाले कुनै पनि वस्तु सेवन वा प्रयोग गरेबापत् देखिने नकारात्मक र नचाहेको प्रभाव भन्ने बुझ्न सकिन्छ । चिकित्सा क्षेत्रमा चाहिँ साइड इफेक्ट डाक्टरले औषधि प्रेस्क्राइब गर्दा वा दिँदा तथा बिरामीले औषधि खाँदा देखिन सक्ने नकारात्मक प्रभाव जनाउनको लागि प्रयोग हुने एकदम प्रचलित शब्दावली हो ।
हामी बिरामी भएर अस्पताल गएपछि जब औषधि पाउछौँ, प्रायः सबैभन्दा पहिला मनमा उब्जने जिज्ञासाहरुमध्ये यी औषधिका साइड इफेक्ट होलान् या नहोलान् भन्ने पनि हुन्छ । अझै डाक्टरले यी औषधि सेवन गर्दा हजुरलाई केही साइड इफेक्ट देखिन सक्छन् है भनेर भन्नुभयो भने त झन् हामी एकदम कौतुहल साथसाथै चिन्तित हुन्छौँ । त्यही कौतुहलतामा आजकल त गुगल गरेर वा ए.आई. को प्रयोगले आफुले सेवन गर्ने औषधिका थप साइड इफेक्ट खोजेर झन् चिन्ता लिँदै बस्ने मानिस पनि प्रशस्त भेटिन्छन् । हामीले यो बुझ्नुपर्ने हुन्छ कि केवल गूगल वा फेसबुक, टिकटक, यूट्यूब लगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यमबाट सधैं सबै प्रश्नको उपयुक्त र विश्वसनीय उत्तर पाइन्छ भन्ने हुँदैन ।
यसको अर्थ यो होइन कि, हामीले सेवन गर्ने औषधिको साइड इफेक्ट सोध्नु नै हुँदैन । डाक्टरले औषधि दिईसकेपछि हामीले जान्नुपर्ने केही साइड इफेक्ट र अपनाउनुपर्ने सावधानी छन् भने त आफै भनिदिनुहुन्छ । उदाहरणको लागि हामीले धेरैजसो सेवन गर्ने सिटामोल, साइनेक्स, फ्लेक्जनजस्ता औषधिका पनि कैयौँ साइड इफेक्ट हुन्छन्, तर ति सधैँ सबैलाई देखिदैनन् । डाक्टरलाई तपाईको स्वास्थ्य, लागेको रोगदेखि लिएर सबै औषधिको विस्तृत ज्ञान हुन्छ तर हाम्रो गुगल गरेर हेर्ने बानीले त्यहाँ देखाएका साइड इफेक्ट र कहिले त गलत जानकारीले हामीलाई मानसिक रुपमा अर्को नयाँ साइड इफेक्ट थपिदिन सक्छन् । यसलाई अंग्रेजीमा ‘नोसेबो इफेक्ट’ भनिन्छ । यसको अर्थ आफूले खाने औषधिबारे अनलाइन या गुगलमा खोज्दा त्यहाँ पाइने अपूर्ण र कहिलकाहीँ गलत जानकारीले गर्दा झन् हुँदै नहुने असर पनि देखिएजस्तो भान हुन सक्छ । सरल भाषामा भन्नुपर्दा 'वनको बाघले खाओस् नखाओस्, मनको बाघले खान्छ' भन्ने नेपाली उखान सार्थक हुन जान्छ । यी त सामान्य औषधि भए, अझै दीर्घ रोगको लागि सेवन गर्ने औषधिको कुरामा त झन्, न हामीले साइड इफेक्ट गुगल गर्न हुन्छ न त गुगल गरेकै भरमा अरु कसैलाई भनिदिन हुन्छ । आधि रोग त औषधिप्रतिको सकारात्मक सोचले गर्दा पनि निको हुन्छ, त्यसैले साइड इफेक्ट जान्न नै मन छ भने डाक्टरलाई सोधौं, गुगल र ए.आई. लाई होइन ।
औषधिको साइड इफेक्ट एउटा पाटो भयो, तर, चिन्ताको विषय के छ भने, साइड इफेक्ट भन्ने कुरा औषधि सेवन गर्दा मात्र देखिने कुरा त होइन, हामीले हाम्रो जीवनमा खाने, पिउने तथा गर्ने विभिन्न क्रियाकलापका पनि त साइड इफेक्ट हुन सक्छन्, होइन र ? यसबारे हाम्रो चिन्ता खोइ ? गर्मी मौसममा फ्रेस हुनुपर्यो भन्दै नजिकै पसलमा गएर हामीले खाने कोकको साइड इफेक्ट हामीले पसलेलाई वा सम्बन्धित निकायलाई कहिले सोध्ने जमर्को गरेका छौँ ? हामीले दिनहुँ खाने खानेकुरा र गर्ने क्रियाकलापले निम्तिएको रोगको लागि दिइने औषधिको साइड इफेक्ट डाक्टरले नभन्दा पनि घरमा आई गुगल गरी एक-एक हेर्ने हामी, कहिले रोगको कारकको साइड इफेक्ट जान्न यती हदसम्म जिज्ञासा देखाएका छौँ ? बिहान अल्छि गरेर ढिलो उठ्ने, व्यायामतिर खासै ध्यान नदिने, घरको सागसब्जी मन नपराउने, चाउ-चाउ, पिज्जा, बर्गर चाहिँ औधी मिठो लाग्ने, चिल्लो पदार्थ त्यसमाथि अझै बाह्य पकौडा, चटपट, पानीपुरी निरन्तर सेवन गर्न नहिचकिचाउने अनि त्यसको फलस्वरूप टाइफाइड, निमोनियाजस्ता संक्रामक रोग र मुटु रोग, सुगर, उच्च रक्तचापजस्ता दीर्घकालीन रोग देखिएपछि जब औषधि दिइन्छ, तब चाहिँ निन्याउरो मुख पारेर “डाक्टर यसको साइड इफेक्ट हुन्छ वा हुँदैन? ” भन्न कत्तिको सुहाउँदो कुरा हो, एक पटक आफै सोचौँ त ! अझ कसै कसैले त आफै डाक्टर बनेर ज्वरो आउँदा चक्लेट दिएजस्तै जानकारको सल्लाहबिना नै गुगलका पाना देखाउँदै एन्टीबायोटिक खाने सल्लाह दिन्छौँ, कहिले निको भयो भनेर भनेको समयभन्दा अघि नै औषधि खान छोड्छौँ भने कहिले आफूखुशी औषधिको डोज बढाएर वा घटाएर खान्छौं । भोलि यस्तो जथाभावी प्रयोगले गर्दा एन्टीबायोटिकले काम गर्न छोड्छ, यो गम्भीर साइड इफेक्टको जिम्मा चाहिँ कसले लिने ? हामीले अरु कसैले सेवन गरेको चुरोट, रक्सी या अन्य कुनै मादक पदार्थको लतलाई देखेर छि-छि दुर्-दुर् गर्दछौं तर अहिले बढ्दै गरेको मोबाइल, सोसल मिडियाको लतले निम्त्याउन सक्ने मानसिक समस्याजस्तो साइड इफेक्टलाई चाहिँ उपेक्षा गरेको हुन्छौँ । कतै छिटो पुग्नु छ वा हतार भएको अपवाद बाहेक अलिकति लामो दूरी हिँड्न पर्दा वा सार्वजनिक गाडी पाउने ठाउँ पुग्न अलिकति समय लाग्ने छ भने, आजकाल हामी मोबाइल निकाल्छौँ अनि पठाओ या इन ड्राईभ बोलाउछौँ, हाम्रो यस्तो आलश्यताको साइड इफेक्टबारे हाम्रो चासो खोई ?
फेरी सबै रोग हाम्रै प्रत्यक्ष लापरबाहीको उपज हुन् भन्न पनि मिल्दैन । कतिपय रोगहरु बिना कसुर पनि हामीलाई लाग्छ, जस्तै केही वंशाणुगत रोग हुन्छन्, केही बढ्दै गरेको धुवाँधुलो, प्रदूषणले गर्दा हुन्छ, कुनै कुनै क्यान्सरजस्ता घातक रोग हाम्रो जीनको खराबीले गर्दा पनि हुन्छ, जुन हामो प्रत्यक्ष गल्ती नभए पनि निम्तेको हुन्छ ।
त्यसैले केही अपवाद रोगहरु जुन हाम्रो अधीनमा हुँदैनन्, तीबाहेकका अन्य रोगहरु जुन हाम्रो प्रत्यक्ष-परोक्ष संलग्नतामा, गल्ति या लापरवाहीले गर्दा निम्तिने गर्छन्, त्यस किसिमका रोग लाग्न नदिन चाहिँ हामीले दिनहुँ गर्ने क्रियाकलाप र सेवन गर्ने खानेकुराका दीर्घकालीन साइड इफेक्ट जान्नु पनि एकदम आवश्यक छ जसको लागि सकेसम्म जानकार व्यक्तिको मद्दत लिँदा राम्रो हुन्छ, नत्र गुगल, युट्युबजस्ता माध्यममा आधिकारिक र विश्वसनीय पेज पहिचान गरेर पनि ज्ञान लिन भने सकिन्छ तर औषधिको साइड इफेक्ट वा आफ्नो रोगबारे जान्न यी श्रोतहरुको प्रयोग सकारात्मक सोँचले गरेपनि अन्ततः नकारात्मक असर नै बढी हुने भएकाले आफू पनि नगरौँ र अरुलाई पनि नगर्ने सल्लाह दिऊँ ।